बीपी, गणेशमान, निधि र सीके प्रसाईंको राजनीतिक विरासत समेट्नुपर्नेमा जोड

झापा : नेपाली कांग्रेस जिल्ला अधिवेशन तयारी समितिका संयोजक कृष्ण हुमागाईंले पार्टी निर्माणमा सर्वस्व गुमाएका नेता तथा तिनका परिवारको योगदान र राजनीतिक विरासतको अपमान गरेर कांग्रेस बलियो हुन नसक्ने बताएका छन्।

नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ३ को क्षेत्रीय अधिवेशनलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै हुमागाईंले बीपी कोइराला, गणेशमान सिंह, महेन्द्रनारायण निधि र सीके प्रसाईंजस्ता नेताको राजनीतिक विरासतलाई आत्मसात् नगर्ने समूहमा कांग्रेसको वास्तविक संस्कार र आत्मा नरहने टिप्पणी गरे।

उनले म्याद सकिएको कार्यसमितिको नियमित महाधिवेशन गरेर पार्टीका सबै तहमा नेतृत्व परिवर्तन गर्नुपर्नेमा विशेष महाधिवेशनका नाममा पार्टी विभाजन गर्ने काम भएको आरोप लगाए। महामन्त्रीहरूको कदमका कारण कांग्रेस ९० सिटबाट १८ सिटमा खुम्चिएको उनको भनाइ थियो।

कार्यक्रममा जिल्ला अधिवेशन तयारी समितिका सहसंयोजक कालेन्द्रप्रसाद सिंह राजवंशीले मनमा लोभ र पाप नराखी सत्य र इमानको बाटोमा हिँड्न सके मानिसले सही निर्णय गर्ने शक्ति प्राप्त गर्ने बताए। उनले सर्वोच्च अदालतले सत्यको पक्षमा फैसला गरी न्याय दिने विश्वाससमेत व्यक्त गरे।

महासमिति सदस्य भगिरथ पोद्दारले निष्ठाको राजनीतिमा विश्वास गर्नेहरू भीडको पछि नलाग्ने बताए। भीडको उत्तेजनालाई इमान र निष्ठाको बाटोमा डोर्‍याउन सक्ने क्षमता संकटका बेला दृढतापूर्वक उभिने नेतामा हुने उनको भनाइ थियो।

महाधिवेशन प्रतिनिधि श्याम सिटौलाले राजनीति, त्याग, बलिदान र संगठन निर्माणमा योगदान दिएका नेताको अपमान गर्नेहरूबाट पार्टी, देश र जनताको हित हुने अपेक्षा गर्न नसकिने बताए।

कार्यक्रममा जिल्ला निर्वाचन अधिकृत नारायणप्रसाद पौडेलले निर्वाचन प्रक्रिया र विभिन्न समावेशी समूह (क्लस्टर) का विषयमा जानकारी गराएका थिए।

क्षेत्र नम्बर ३ क्षेत्रीय अधिवेशन तयारी समितिका संयोजक नारायण दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रममा चिन्तामणि खरेलले स्वागत गरेका थिए भने उमाशंकर गणेशले सञ्चालन गरेका थिए।

Scroll to Top