निःशुल्क आँखा परीक्षण शिविरबाट ४२१ जना लाभान्वित

झापा : झापामा आयोजित निःशुल्क आँखा परीक्षण शिविरबाट ४२१ जना लाभान्वित भएका छन्।

आँखाको स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै सर्वसाधारणलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले बुधबार एकदिने शिविर आयोजना गरिएको हो।

लायन्स क्लब अफ अनारमनी, लायन्स क्लब अफ कनकाई सुरुङ्गा, लायन्स क्लब अफ कनकाई दुर्गापुर, लायन्स क्लब अफ मेचीनगर र लायन्स क्लब अफ बिर्तामोड सिनर्जीको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको थियो। शिविरमा ४२१ जनाले आँखा परीक्षण गराएका आयोजकले जनाएका छन्।

‘सेवा नै धर्म हो, मानवता नै हाम्रो पहिचान हो’ भन्ने मान्यतासहित आयोजना गरिएको शिविरले सर्वसाधारणलाई आँखा परीक्षण सेवामा पहुँच पुर्‍याउन सहयोग गरेको आयोजकको भनाइ छ।

लायन्स क्लब अफ अनारमनीका सचिव सृजन अधिकारीका अनुसार समुदायमा आँखाको स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन, समयमै परीक्षण गर्ने बानीको विकास गर्न र स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तार गर्न यस्ता कार्यक्रम प्रभावकारी हुन्छन्।

शिविर सफल बनाउन सहयोग गर्ने स्वास्थ्यकर्मी, स्वयंसेवक, सहयोगी तथा सहभागीप्रति आयोजक क्लबहरूले आभार व्यक्त गरेका छन्। साथै, आगामी दिनमा पनि सामाजिक सेवा, मानवीय सहयोग र जनस्वास्थ्यसँग सम्बन्धित कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।

Scroll to Top