नेपालमा बर्सेनि २० हजारलाई सर्पदंश, एक हजारको मृत्यु

झापा र मोरङमा पत्रकारलाई अभिमुखीकरण, समयमै उपचार गर्न विज्ञको आग्रह

झापा : नेपालमा बर्सेनि करिब २० हजार मानिस सर्पदंशबाट प्रभावित हुने र करिब एक हजारको मृत्यु हुने अनुमान गरिएको छ । सर्पले टोकेपछि गलत उपचार विधि अपनाउने र अस्पताल पुग्न ढिलाइ गर्ने प्रवृत्तिले जोखिम बढाउने भन्दै विज्ञहरूले समयमै उपचार र जनचेतना विस्तारमा जोड दिएका छन् ।

फेयरमेड फाउन्डेसन नेपाल र सहारा नेपालको साझेदारीमा सञ्चालित संकल्प परियोजनाअन्तर्गत झापाको बिर्तामोड र मोरङको विराटनगरमा पत्रकारसँग सर्पदंश तथा उपेक्षित उष्ण प्रदेशीय रोगसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

बिर्तामोडस्थित नेपाल पत्रकार महासंघ झापाको कार्यालयमा मंगलबार र विराटनगरमा बुधबार आयोजित कार्यक्रममा सर्पदंशका लक्षण, सुरक्षित प्राथमिक उपचार र रोकथामका उपायबारे जानकारी दिइएको थियो ।

कार्यक्रममा सर्पदंश विज्ञ कैलाश खाकी श्रेष्ठले सर्पले टोकेपछि टोकेको ठाउँ काट्ने, चुस्ने, कसिलो डोरी बाँध्ने वा धामीझाँक्रीकहाँ लैजाने जस्ता गलत अभ्यास नगरी तत्काल उपचार केन्द्र वा अस्पताल पुर्‍याउनुपर्ने बताए । बिरामीलाई शान्त राख्ने र प्रभावित अङ्ग स्थिर बनाएर लैजानुपर्ने उनको सुझाव थियो ।

विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्ममा सर्पदंशका कारण हुने मृत्यु र अपाङ्गता ५० प्रतिशतले घटाउने लक्ष्य लिएको छ । त्यसैअनुसार समुदायमा सचेतना बढाउने र उपचारमा पहुँच विस्तार गर्ने उद्देश्यले संकल्प परियोजनाले काम गरिरहेको जनाइएको छ ।

उपेक्षित उष्ण प्रदेशीय रोग विज्ञ रुषा उपाध्यायले कालाजार, हात्तीपाइले, कुष्ठरोग, डेंगु, रेबिजलगायत रोगको रोकथाम र नियन्त्रणमा जनचेतना आवश्यक रहेको बताइन् ।

नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले सर्पदंश र उपेक्षित उष्ण प्रदेशीय रोगविरुद्धको अभियानमा सञ्चारकर्मीले समाचार तथा जनचेतनामूलक सामग्रीमार्फत सहयोग गर्नुपर्ने बताए ।

बिर्तामोडमा सहारा नेपालका कोषाध्यक्ष श्याम प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा परियोजनाका फोकल पर्सन पवन राईले उद्देश्यबारे जानकारी दिएका थिए भने कार्यक्रम संयोजक प्रशन्न कार्कीले सञ्चालन गरेका थिए । विराटनगरको कार्यक्रममा फेयरमेड र सिबिआरका प्रतिनिधिले सहजीकरण गरेका थिए ।

Scroll to Top