विराटनगर : नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले सातै प्रदेशबीच आर्थिक सहकार्य बढाउँदै वस्तु तथा सेवाको आवागमनमा हुने दोहोरो शुल्क हटाउन माग गरेको छ ।
विराटनगरमा आयोजित अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनअन्तर्गत मंगलबार निजी क्षेत्रसँगको छलफलमा महासंघका कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले उत्पादन, निर्यात र पर्यटन प्रवर्द्धनका लागि साझा नीति बनाउनुपर्ने बताएका हुन् ।
उनले एक प्रदेशमा तिरिएको शुल्कको रसिद अर्को प्रदेशमा समेत मान्य हुने व्यवस्था गर्नुपर्ने र चिया, अलैँची, अदुवा, जडीबुटी तथा दुग्धजन्य उत्पादनको प्रशोधन र बजारीकरणमा जोड दिनुपर्ने बताए । उत्पादनमूलक उद्योगलाई प्रोत्साहन, सहुलियतपूर्ण कर्जा र लगानीमैत्री वातावरण निर्माण गर्न पनि उनले आग्रह गरे ।
राउतले प्रदेशका उत्पादन, लगानीका अवसर र बजारलाई जोड्ने साझा योजना बनाउनुपर्ने उल्लेख गर्दै पर्यटन गन्तव्यलाई जोडेर संयुक्त प्याकेज सञ्चालन गर्न प्रस्ताव गरे ।
उनका अनुसार गत आर्थिक वर्षमा सातै प्रदेशले कुल बजेटको ६६।९९ प्रतिशत मात्रै खर्च गरेका छन् । विकास खर्च बढाउन आयोजना कार्यान्वयन क्षमता सुधार गर्नुपर्नेमा जोड दिँदै उनले संघ, प्रदेश र स्थानीय सरकार तथा निजी क्षेत्रबीचको सहकार्यबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताए ।






