Petroleum products

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा : चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति तथा वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ । नेपाल आयल निगमले पनि जिल्लामा पेट्रोलियम पदार्थको अभाव नरहेको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले चाडबाडमा उपभोग्य वस्तुको माग बढ्न सक्ने भएकाले आपूर्ति व्यवस्थालाई चुस्त र व्यवस्थित बनाउन सम्बन्धित निकायलाई आग्रह गरेका छन् । जिल्लामा ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति अवस्थाबारे समीक्षा गर्दै उनले उपभोक्तालाई सहज रूपमा इन्धन उपलब्ध गराउन आवश्यक समन्वय गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल आयल निगम चारआलीका प्रमुख उमेशकुमार पोखरेलका अनुसार झापामा पेट्रोलियम पदार्थको पर्याप्त आपूर्ति भइरहेको छ । बजारमा इन्धनको कृत्रिम अभाव हुन नदिन आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाउने विषयमा निगमले समेत ध्यान दिएको छ ।

पराजुली ग्यास उद्योगका सञ्चालक जितबहादुर कार्कीका अनुसार झापामा दैनिक पाँच हजार ५०० सिलिन्डर ग्यासको माग रहेकामा उद्योगबाट दैनिक सात हजार ६०० सिलिन्डर उत्पादन भइरहेको छ । पछिल्लो दुई महिनामा नियमित खपतको तुलनामा करिब ४० प्रतिशत बढी ग्यास बजारमा खपत भएको उनले जानकारी दिए ।

चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको नियमित आपूर्ति सुनिश्चित गर्ने विषयमा मंगलबार जिल्ला प्रशासन कार्यालयमा छलफलसमेत भएको थियो । छलफलमा सुरक्षा निकाय, नेपाल आयल निगम, पेट्रोलियम डिलर्स एसोसिएसन तथा ग्यास विक्रेता सङ्घका प्रतिनिधिहरू सहभागी थिए ।

छलफलमा चाडबाडका बेला इन्धनको कृत्रिम अभाव सिर्जना हुन नदिन, वितरण प्रणालीलाई प्रभावकारी बनाउन तथा उपभोक्ताले सहज रूपमा पेट्रोलियम पदार्थ प्राप्त गर्ने व्यवस्था मिलाउनुपर्ने विषयमा जोड दिइएको थियो ।

Scroll to Top