आफूखुसी मासुको मूल्य बढाए कारबाही गर्ने भद्रपुरको चेतावनी

झापा : चाडपर्वको मौका छोपेर मासुको मूल्य आफूखुसी वृद्धि नगर्न भद्रपुर नगरपालिकाले व्यवसायीलाई चेतावनी दिएको छ। नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै प्रचलित बजार मूल्यभन्दा बढी मूल्यमा मासु बिक्री गरेको पाइएमा कानुनबमोजिम कारबाही गर्ने जनाएको हो।

नेपालीको महान् चाड बडादसैँ तथा तिहार नजिकिएसँगै भद्रपुर नगर क्षेत्रका केही मासु पसलले बजारमा प्रचलित मूल्यभन्दा बढी मूल्य लिएको भन्दै उपभोक्ताबाट गुनासो आएपछि नगरपालिकाले चासो देखाएको हो।

नगरपालिकाले चाडपर्वका बेला बजारलाई व्यवस्थित, स्वच्छ र उपभोक्तामैत्री बनाउन सबै मासु व्यवसायीलाई प्रचलित मूल्य यथावत् राख्न आग्रह गरेको छ। कुनै पनि बहानामा मासुको मूल्य वृद्धि नगर्न सूचनामार्फत सचेत गराइएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाले उपभोक्तालाई पनि सचेत रहन र प्रचलित बजार मूल्यभन्दा बढी रकम भुक्तानी नगर्न अनुरोध गरेको छ। बढी मूल्य लिएको पाइएमा नगरपालिकामा जानकारी गराउन प्रमुख प्रशासकीय अधिकृत गोरखनाथ मिश्रद्वारा जारी सूचनामा भनिएको छ।

नगरपालिकाको सूचनालाई बेवास्ता गर्दै आफूखुसी मूल्य वृद्धि गरी मासु बिक्रीवितरण गरेको पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनीसमेत दिइएको छ।

Scroll to Top