झापा : चाडपर्वको उल्लासलाई गीत–संगीतसँग जोड्दै दर्शकलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले झापाको बिर्तामोडमा ‘जमरा एण्ड द विट्स’ सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ। डिजि भेन्टसको आयोजनामा आगामी असोज ३० गते हुने कार्यक्रममा चर्चित र्यापर जेमसीसहित राष्ट्रियस्तरका कलाकार तथा सांगीतिक समूहले प्रस्तुति दिनेछन्।
कार्यक्रममा जेमसी, दि फिरन्ते ब्याण्ड र केयरसिंह लुङ्गाको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ। फरक–फरक सांगीतिक विधामा रुचि राख्ने दर्शकलाई लक्षित गरी आयोजना गर्न लागिएको कार्यक्रमले बिर्तामोडको सांगीतिक माहोललाई थप उत्साहपूर्ण बनाउने अपेक्षा गरिएको छ।
आयोजक जीवन भण्डारीका अनुसार चाडपर्वलाई गीत–संगीतसँग जोडेर उत्सवमय बनाउनुका साथै स्थानीय दर्शकलाई राष्ट्रिय कलाकारसँग प्रत्यक्ष रमाउने अवसर प्रदान गर्नु कार्यक्रमको मुख्य उद्देश्य हो। मनोरञ्जनसँगै सामाजिक कार्यलाई समेत जोड्ने लक्ष्य राखिएको उनले बताए।
‘चाडपर्वमा संगीतलाई पनि मिसाउनुपर्छ। राष्ट्रिय कलाकार ल्याएर बिर्तामोडका दर्शकलाई मनोरञ्जन दिने हाम्रो उद्देश्य हो,’ भण्डारीले भने, ‘कार्यक्रमलाई मनोरञ्जनमा मात्र सीमित नराखी सामाजिक कार्यसँग पनि जोड्न चाहन्छौँ।’
आयोजकले कार्यक्रममा करिब तीन हजार दर्शक सहभागी हुने अपेक्षा गरेको छ। दर्शकको रुचि र सहभागितालाई ध्यानमा राख्दै टिकटको मूल्य एक हजार, एक हजार पाँच सय र दुई हजार रुपैयाँ निर्धारण गरिएको छ। आयोजक रोहन पोखरेलका अनुसार विभिन्न क्याफेमार्फत पनि टिकट खरिद गर्न सकिनेछ।
चाडपर्वका बेला साथीभाइ तथा परिवारसँग रमाउन, मनपर्ने कलाकारको प्रस्तुति प्रत्यक्ष हेर्न र सांगीतिक वातावरणमा उत्सव मनाउन चाहने दर्शकका लागि कार्यक्रम विशेष अवसर बन्ने आयोजकको विश्वास छ।
पछिल्लो समय बिर्तामोडमा सांगीतिक कार्यक्रमप्रति आकर्षण बढ्दै गएको अवस्थामा आयोजना हुन लागेको यस कार्यक्रमले स्थानीय मनोरञ्जन क्षेत्रलाई थप चलायमान बनाउनुका साथै युवापुस्तालाई सांगीतिक गतिविधितर्फ आकर्षित गर्ने अपेक्षा गरिएको छ।
संगीत, उत्साह र चाडपर्वको उमंगलाई एउटै मञ्चमा समेट्ने लक्ष्यसहित आयोजना हुन लागेको ‘जमरा एण्ड द विट्स’ ले बिर्तामोडका दर्शकलाई मनोरञ्जनसँगै अविस्मरणीय सांगीतिक अनुभव प्रदान गर्ने आयोजकले जनाएको छ।


