बिर्तामोड नगरपालिकाबाट करारका नौ सवारी चालक हटाइए

झापा : झापाको बिर्तामोड नगरपालिकाले करारमा कार्यरत नौ जना सवारी चालकको करार सम्झौता नवीकरण नगर्ने निर्णय गरेको छ। नगरपालिकाले कात्तिक १ गतेदेखि लागू हुने गरी उनीहरूलाई सेवाबाट हटाएको हो।

सेवाबाट हटाइनेमा मदन आचार्य, महेन्द्र घिमिरे, विमल न्यौपाने, कुलप्रसाद रानामगर, शेरबहादुर मेचे, गणेश तिम्सिना, गंगा उप्रेती, शशिविक्रम भट्टराई र कमल सार्की छन्।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईले सम्बन्धित चालकलाई पठाएको पत्रअनुसार नगरपालिकाको दोस्रो नगरसभाको नवौँ अधिवेशनअन्तर्गत गत असार २८ गते सम्पन्न बैठकले करार अवधि असोज मसान्तसम्म कायम रहने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा कात्तिक १ गतेदेखि करार सम्झौता थप नगरिएको पत्रमा उल्लेख छ।

नगरपालिकाले नौ जना चालकलाई हटाए पनि करारमै कार्यरत पाँच जना सवारी चालकले भने काम गरिरहेको बताइएको छ। एउटै प्रकृतिको काममा संलग्न चालकहरूमध्ये केहीको करार नवीकरण नगर्नु र केहीलाई निरन्तरता दिनुको आधारबारे प्रश्न उठेको छ।

करार अवधि थप नगरिएका चालकहरूले भने कार्यविधि नबनाई चाडपर्वको मुखमा आफूहरूलाई मात्र कामबाट हटाइएको भन्दै असन्तुष्टि जनाएका छन्। उनीहरूले करारका कर्मचारी व्यवस्थापनका लागि स्पष्ट मापदण्ड आवश्यक रहेको बताएका छन्।

नगरपालिकाको निर्णयले रोजगारी गुमाएका चालकहरू प्रभावित भएका छन्। करार नवीकरण नगर्ने निर्णयको आधार, बाँकी चालकलाई निरन्तरता दिनुको कारण र कर्मचारी व्यवस्थापनसम्बन्धी मापदण्डबारे नगरपालिकाको थप धारणा प्राप्त हुन सकेको छैन।

Scroll to Top