शुक्रबार पोखरामा घन्किँदै ‘कन्दरा’

पोखरा — ‘हङकङ पोखरा…’, ‘तिमी पारि त्यो गाउँ…’, ‘तगारोमा रुमाल राखी…’ लगायत चर्चित गीतका साथ पोखरेली ब्यान्ड ‘कन्दरा’ शुक्रबार गृह नगरमा घन्किँदै छ ।

गीतसंगीतमार्फत पर्यटन प्रवर्द्धन गर्ने कन्दरा सांगीतिक अभियान ‘पहिला घरदेश अनि परदेश’ अन्तर्गत ब्यान्ड पोखरा प्रदर्शनी केन्द्रमा पहिलो लाइभ कन्सर्टमा प्रस्तुत हुने भएको हो ।

पोखरा पर्यटन परिषद् र कन्दरा ब्यान्डको व्यवस्थापक अल्फा स्क्वायर प्रालिको सहकार्यमा देशका सातवटै प्रदेशका मुख्य सहरमा यो अभियान पुग्ने छ । परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटन उद्यमलाई पुनर्जागरण गरी पर्यटकीय गन्तव्य स्थलको सन्देश दिन सांगीतिक अभियानको थालनी भएको बताए । अभियानले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने, घुमफिर संस्कृति एवम् दिगो पर्यटनलाई प्रोत्साहित मिल्ने गरी अर्थतन्त्र चलायमान हुने उनको अपेक्षा छ ।

ब्यान्डका लिड भोकलिस्ट विवेक श्रेष्ठले अभियानको यो पहिलो र ठूलो कर्न्सट भएको बताए । कन्सर्टका लागि पोखरामा पहिलोपल्ट सबैभन्दा ठूलो आकारको स्टेज बनाएको उनको दाबी छ । कन्सर्टमा उनीसँगै सुनिल थापा, हरि महर्जन, देव लामा, सुन्दर महर्जन, पंकज झाको समूहले ब्यान्डका नयाँ–पुराना डेढ दर्जन गीतमा लाइभ प्रस्तुति दिने छ । कन्दराले हालसम्म ६ वटा एल्वम र सयौं गीत सांगीतिक बजारलाई दिइसकेको छ । मुलुकभित्र र मुलुकबाहिर गरी २ सयभन्दा बढी कन्सर्ट सम्पन्न गसिकेको छ ।

गण्डकी प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, गण्डकी प्रज्ञा प्रतिष्ठानले मुलुकका सातै प्रदेशमा गरिने सांगीतिक अभियानको प्रवर्द्धनमा हातेमालो गरेका छन् । पोखरामा पर्यटन उद्यमसँग सम्बद्ध १४ वटा संस्थाहरूको आवद्धता रहेको छाता संगठन पोखरा पर्यटन परिषद् आयोजक र लायन्स क्लब अफ पोखरा सामिप्य सहआयोजक रहेको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top