
काठमाडौँ — बारा रतनपुरीका १६ वर्षीय रामबहादुर बम्जन २०६३ सालमा एक दिन सुटुक्क घर छाडेर हिँडेका थिए, १७ वर्षपछि उनी ठूलो चर्चा परिचर्चाबीच अदालत उपस्थित हुँदै छन् । योबीचमा आस्थाका नाममा यौन शोषण, हत्या र मानिस बेपत्ता बनाएको आरोप लागेका उनी चार वर्षदेखि फरार थिए ।
छक्याउने खेलमा उनी सुरुदेखि नै ‘उस्ताद’ थिए । किशोरवयमै एकाएक घरबाट हराएपछि परिवार र गाउँलेले खोजी सुरु गरेका थिए, रतनपुरी नजिकको जंगलमा एउटा रूखमुनि ध्यान गरिरहेको अवस्थामा भेटिएका उनले आफूलाई तपस्वी घोषणा गरे । उनलाई ध्यान बसेको हेर्न बिस्तारै भीड लाग्न थाल्यो । र, त्यो ठाउँ ‘धार्मिक स्थल’ का रूपमा चिनिन थाल्यो । उनले त्यसरी नै १० महिना बिताए । त्यतिका महिना उनले पानीसमेत नपिई ध्यानमा बसेको प्रचार गर्न भक्तहरू खटिएका थिए । अनुयायी र स्थानीयले उनलाई बुद्धकै अवतार दाबी गर्थे । बम्जनले भक्तलाई प्रवचन दिन्थे । त्यसैका आधारमा उनको परिचय ‘लिटिल बुद्ध’ बनेको थियो ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समाचारको विषय बनेका उनी बेलाबेलामा अचानक सम्पर्कविहीन हुन्थे । रतनपुरी छेउको जंगलमा १० महिना ध्यान गरेपछि उनी एकाएक सम्पर्कविहीन भएको खबरले देश–विदेशमा चर्चा पायो । केही दिनपछि बाराकै हलखोरिया जंगलमा एउटा रूखमुनि ‘तपस्यारत’ अवस्थामा भेटिए । भेटिएको खबर पनि चर्चित भयो । बीबीसी र डिस्कभरीजस्ता टीभी च्यानलले बम्जनमाथि विशेष सामग्री नै प्रसारण गरे ।
डिस्कभरीको ‘बुद्ध ब्वाय’ वृत्तचित्रले बम्जनको चर्चा विश्वभर भयो । देश–विदेशमा बढ्दो चर्चासँगै उनका अनुयायी र भक्तको दायरा फराकिलो बन्दै गयो । सर्वसाधारणदेखि नेता र उच्च सरकारी अधिकारीसमेत उनका भक्त बन्न थाले । बम्जनले प्रचार गरेको बोधी श्रवण धर्म संघमा पूर्वराज्यमन्त्री मणि लामा सक्रिय छन् भने अर्का पूर्वराज्यमन्त्री यशोदा लामाले पनि बम्जनको भक्तका रूपमा चिनाउँदै आएकी छन् । ‘गुरुलाई भेट्न’ भन्दै उनी बुधबार सीआईबी कार्यालयसमेत पुगेकी थिइन् ।

यस्तै देश–विदेशबाट आर्थिक स्रोत बटुलिन थाल्यो । केही वर्षमै उनले सर्लाही, लमजुङ, सिन्धुली, सिन्धुपाल्चोक, काठमाडौंमा आश्रमहरू बनाए । सिन्धुली कमलागाई नगरपालिका–८ पैरेस्थित आश्रम करिब ४२ बिघामा फैलिएको छ । २४ बिघाको लालपुर्जा नै थियो भने बाँकी सामुदायिक वनको जग्गा अतिक्रमण गरिएको थियो ।
त्यस्तै सिन्धुपाल्चोकको इन्द्रावती–५ का केही स्थानीयले ३० रोपनी जग्गा दिएपछि त्यहाँ पनि आश्रम बनाए । त्यहीं उनले ‘मैत्री पद्धति’ सुरु गरे । कसैसँग दोहोरो नबोल्ने बम्जनले २०७३ सालमा ‘मैत्री मार्ग’ अँगालेर पहिरन बदले । रातो बौद्ध चीवरको साटो सेतो र हरियो रङको पहिरन अनिवार्य गरे । सँगै मैत्री बोधी संघ बनाए ।
बाहिर ‘बुद्ध’ बने पनि आश्रमभित्र भने उनले अपराधको भयानक संसार खडा गरेको गुनासो बढ्दै गयो । महिलाहरूलाई बन्धक बनाउने, यौन शोषण गर्ने र हत्यासमेत गरेको आरोपका उजुरी पर्न थालेपछि भने बम्जनको छवि धुमिल भयो । उनी २०६७ सालदेखि नै विवादित छन् । बाराको हलखोरियास्थित जंगलमा बसेका बेला उनी र उनका अनुयायीले सोही जंगलमा च्याउ टिप्न आएका सर्वसाधारणलाई नियन्त्रणमा लिएर कुटपिट गरेका थिए । विभिन्न समयमा स्थानीयलाई कुटपिट गर्ने, बन्धक बनाउने गर्दै आएका उनले आश्रमका आनीहरूलाई यौन शोषण गरेको तथा अनुयायीलाई बेपत्ता पारेको घटना पनि सार्वजनिक भए । सिन्धुपाल्चोकको आश्रमबाट दुई बेपत्ता भएको भन्दै उनीविरुद्ध प्रहरीमा उजुरी पर्यो ।
पछि सिन्धुपाल्चोकको इन्द्रावती–६, बाँडेगाउँस्थित तोड्के जंगलमा पनि आश्रम बनाए, जहाँ प्रहरीले २०७६ पुसमा छापा मारेको थियो । त्यहाँ बेपत्तामध्येका मकवानपुरका सञ्चलालको हत्या गरेको प्रहरीको आशंका थियो । करिब ८० रोपनीको आश्रम भित्र एक स्थानमा कमलो माटो भेटेर उत्खनन गर्दा ९ वटा नुनको प्याकेट फेला पारिएको थियो । शव गलाउन नुनको प्रयोग गरिएको हुन सक्ने आशंका गरे पनि पुष्टि हुने थप प्रमाण फेला पर्न सकेको थिएन ।
त्यस्तै उजुरी सिन्धुलीमा पनि थियो । आश्रमका आनीहरूमाथि यौन हिंसा गरेको, बेपत्ता पारेको र हत्या गरेको भन्दै किटानी जाहेरी परेको थियो । जाहेरीपछि २०७६ सालमा उनी फरार भए । प्रहरीले उनलाई पक्राउ गर्न बारा, सिन्धुली, सिन्धुपाल्चोक, लमजुङका आश्रमहरूमा छापासमेत मारेको थियो । तर, उनी प्रहरीलाई छक्याउँदै, लुक्दै हिँड्न सफल भइरहे ।
बम्जनले चार अनुयायीलाई आश्रमबाटै बेपत्ता पारेको भनी उनीविरुद्ध विभिन्न प्रहरी कार्यालयमा उजुरी परेको छ । चुन्मो भन्ने चिनीमाया तामाङ, डोल्मो भन्ने फूलमाया रुम्बा, सञ्चलाल वाइबा र सुरेशकुमार आले आश्रमबाट बेपत्ता भएकाले ‘खोजतलास गरी पाऊँ’ भन्दै परिवारका सदस्यले उजुरी गरेका छन् ।
नुवाकोटकी २९ वर्षीया चुन्मो २०६९ असोजदेखि, मकवानपुरकी ३० वर्षीया डोल्मो २०७१ माघदेखि, मकवानपुरकै ५१ वर्षीय सञ्चलाल २०७१ चैतदेखि र बाराका ३४ वर्षीय सुरेश २०७२ जेठदेखि बेपत्ता छन् । चुन्मो, डोल्मो र सञ्चलाल सिन्धुपाल्चोकको बाँडेगाउँ आश्रमबाट र सुरेश बारा निजगढस्थित आश्रमबाट बेपत्ता भएका थिए ।
बम्जनलाई बोधी श्रवण धर्म संघ र नमो तपोवन संरक्षण तथा संवर्द्धन समितिका स्वयंसेवकले सुरक्षा दिने गरेका थिए । २०६९ मा संघकै पदाधिकारीले सिन्धुपाल्चोककी एक आनी र एक विदेशी नागरिकलाई तीन महिनासम्म बन्धक बनाएको आरोप लागेको थियो । बम्जनले बाराको हलखोरियामा राष्ट्रिय वन अतिक्रमण गरेर गुम्बा बनाएको आरोपसमेत लागेको थियो । जिल्ला वन कार्यालय र स्थानीय प्रशासनले बम्जनलाई वन क्षेत्रमा प्रवेशमै रोकसमेत लगाएको थियो ।
पछि उच्च अदालत, हेटौंडाले अन्तिम फैसला नहुन्जेल बम्जनलाई नरोक्नू भन्ने आदेश दिएको थियो । त्यसपछि उनी पुनः हलखोरियाको वनमा बस्न थालेका थिए । पछि वन मन्त्रालयले २०७० मा हलखोरिया वन क्षेत्रमा कुनै पनि निर्माण र उपभोग गर्न नदिने निर्णय गरेको थियो । मन्त्रालयको उक्त निर्णयविरुद्ध बम्जनका अनुयायीले आन्दोलनसमेत गरेका थिए । तर, स्थानीय प्रशासनले वनभित्र बनाइएको भौतिक संरचना भत्काइदिएपछि उनी सिन्धुली पुगेका थिए । भागम्भाग गर्दै आएका उनी अनुसन्धान व्यवस्थित भएपछि चार वर्षदेखि भने फरार थिए ।
तर, मंगलबार साँझ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई काठमाडौंको बूढानीलकण्ठस्थित एउटा बिलासी घरबाट पक्राउ गरेको हो । उनको निवासबाट ३ करोड ३४ लाख ३७ हजार ९ सय ६ रुपैयाँ बरामद भएको छ । यस्तै अमेरिका, अस्ट्रेलिया, भारत, चीन, क्यानडा, डेनमार्क, इन्डोनेसियालगायत १७ देशका ३० लाख ९२ हजार ४ सय ६ रुपैयाँ बराबरको मुद्रा पनि बरामद भएको थियो । ५ करोडमा सेतो रङको ल्यान्ड क्रुजर गाडी किन्ने तरखरमा रहेका बम्जनले धुम्बाराहीस्थित युनाइटेड ट्रेडर्स सिन्डिकेट सोरुमलाई ३ करोड रुपैयाँ नगद बैनासमेत गरिसकेको अनुसन्धान अधिकारीहरूले बताएका छन् । हाल भने उनी तुलाराम तामाङका नाममा रहेको प्रदेश–३–०१ ०२४ च ६७२९ नम्बरको सेतो रङको टोयोटा फर्चुनर चढ्थे । अरू चार वटा मोटरसाइकल प्रयोग गर्थे । प्रहरीले बम्जनबाट गाडीको चाबी, १४ वटा मोबाइल, ५ वटा आइप्याड र ट्याब, तीन वटा मोटरसाइकलका बिलबुक, २ वटा ल्यापटप, २० वटा पेनड्राइभ, एउटा भ्वाइस रेकर्डर र २ वटा मेमोरी कार्ड पनि बरामद गरेको छ ।
उनका थप सम्पत्ति विवरणबारे विस्तृत अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ । ‘यो कहाँबाट आयो, कसरी आयो, के स्रोत हो भन्ने अनुसन्धान हुँदै छ तर अवश्य पनि यति ठूलो पैसा घरमा राख्नु सामान्य मान्न सकिँदैन,’ पत्रकार सम्मेलनमा प्रहरी अधिकारीले भने । बाल यौन दुराचार मुद्दामा फरार भएकाले बुधबार नै उनलाई सर्लाही लगिएको छ । बिहीबार सर्लाही अदालतमा उपस्थित गराइने सीआईबीका प्रवक्ता नवराज अधिकारीले बताए । अवैध रूपमा विदेशी तथा नेपाली मुद्रा राखेको लगायत अन्य आरोपमा अनुसन्धानपछि थप मुद्दा चलाइने प्रहरीको भनाइ छ ।
बम्जनले बाराको हलखोरियास्थित आश्रममा रहेकी आनीलाई २०७१ साउनमा बलात्कार गरेको मुद्दा जिल्ला अदालत सर्लाहीमा परेको थियो । सर्लाही अदालतले २०७६ माघ २३ मा पक्राउ पुर्जी जारी गरेपछि उनी फरार भएका थिए । काठमाडौं, सिन्धुपाल्चोक, सिन्धुली, मकवानपुर र बाराका प्रहरीको सूचीमा पनि बम्जन फरार अभियुक्त थिए ।
प्रहरीका अनुसार दुई महिनादेखि श्रीमती र दुई सन्तानसहित बूढानीलकण्ठमा बस्दै आएका थिए । पक्राउ गर्न प्रहरी घरमा छिरेपछि हाम फालेर भाग्ने प्रयास गरेका थिए । ‘यसपालिको अपरेसन धेरै व्यवस्थित थियो, त्यसैले सफल भयो,’ सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यले भनिन्, ‘पहिलाका अपरेसनहरू अलि सार्वजनिक हुन्थे, अनुयायी र विभिन्न माध्यमबाट उसले आफूलाई हाइड गर्थ्यो ।’ यो अनुसन्धानलाई ब्युरोले ‘अपरेसन ब्लु’ भनेको छ ।प्रकाशित : पुस २६, २०८० ०७:२१

