बिर्तामोडको शान्ति समूह नेपाल सुधार केन्द्रमा युवकको मृत्यु, कारबाहीको मागसहित जाहेरी

झापा : बिर्तामोडस्थित एक सुधार केन्द्रमा उपचारका लागि भर्ना गरिएका युवकको मृत्यु भएपछि परिवारले केन्द्र सञ्चालकको लापरवाहीका कारण मृत्यु भएको आरोप लगाउँदै कारबाहीको मागसहित प्रहरीमा किटानी जाहेरी दिएका छन्।

बिर्तामोड नगरपालिका–१ स्थित शान्ति समूह नेपाल सुधार केन्द्रमा इलामको फाकफोकथुम गाउँपालिका–२, कोल्बोटेका ३३ वर्षीय नरबहादुर बस्नेतको मृत्यु भएको हो। मादक पदार्थ सेवनको लत छुटाउन परिवारले उनलाई तीन महिनासम्म सुधार केन्द्रमा राख्ने गरी असोज २५ गते भर्ना गराएका थिए।

असोज २७ गते बस्नेत बिरामी परेको खबर परिवारलाई दिइएको थियो। तर, परिवारका सदस्य पुग्नुअघि नै उनको मृत्यु भइसकेको थियो।

सुधार केन्द्रका सञ्चालकले उपचारका लागि बस्नेतलाई सुरुमा कञ्चनजङ्घा अस्पताल र त्यसपछि बिर्ता सिटी अस्पताल पुर्‍याएको जाहेरीमा उल्लेख छ। बिर्ता सिटी अस्पतालमा चिकित्सकले जाँच गर्दा उनको मृत्यु भइसकेको पाइएको थियो।

शवगृहमा दाजुको शव हेर्दा शरीरका विभिन्न भागमा चोटपटक देखेको मृतकका भाइ ३१ वर्षीय तारा बस्नेतले जाहेरीमा उल्लेख गरेका छन्। बिर्ता सिटी अस्पतालमा बुझ्दा दाजुलाई अस्पताल ल्याउँदाकै अवस्थामा मृत्यु भइसकेको जानकारी पाएको उनको भनाइ छ।

सुधार केन्द्रको सीसीटीभी फुटेज जाँच गर्दा दाजुलाई कोठाभित्र अस्पतालको शय्याजस्तो संरचनामा हातखुट्टा बाँधेर सुताइएको र पीडाका कारण छटपटाउँदा सोही कोठामा सुत्ने अन्य तीन–चार जनाले शरीरका विभिन्न भागमा थिचेको देखिएको तारा बस्नेतले जाहेरीमा दाबी गरेका छन्।

उनका अनुसार फुटेजमा एक जनाले दाजुको दाहिने हातमा डोरी बाँधेको, अर्का एक जनाले गालामा थप्पड हानेको र एक जनाले लट्ठी बोकेको देखिएको छ। घटनाबारे सुधार केन्द्रसँग सोधपुछ गर्दा चित्तबुझ्दो जवाफ नपाएपछि केन्द्रकै लापरवाहीका कारण दाजुको मृत्यु भएको आशंका लागेको उनले जाहेरीमा उल्लेख गरेका छन्।

बस्नेतलाई सुधार केन्द्रमा राखिएका बेला गरिएको व्यवहार देखिने सीसीटीभी फुटेजसमेत सार्वजनिक भएको छ। घटनामा सुधार केन्द्रको भूमिका, युवकको मृत्युको कारण र जाहेरीमा लगाइएका आरोपबारे प्रहरी अनुसन्धानबाट थप तथ्य खुल्न बाँकी छ।

Scroll to Top