दमक गट ट्यालेन्टको उपाधि लिजा मगर र निलम राईलाई

दमक : झापाको दमकमा आयोजित ‘दमक गट ट्यालेन्ट सिनियर एन्ड जुनियर डान्स कम्पिटिसन’ को उपाधि सिनियरतर्फ लिजा मगर र जुनियरतर्फ निलम राईले जितेका छन्।
दमकस्थित जागृति डान्स स्टुडियोले आयोजना गरेको प्रतियोगिताको फाइनल दमकस्थित सूर्योदय बोर्डिङ स्कुलमा सम्पन्न भएको हो। प्रतियोगितामा दुवै उमेर समूहका प्रतिस्पर्धीले नृत्यकला प्रस्तुत गरेका थिए।
प्रतियोगिताको सिनियरतर्फ लिजा प्रथम, मिङहाङ लिम्बू दोस्रो, डेनी मगर तेस्रो, रचना राई चौथो र साईना लावती पाँचौँ भएका छन्। प्रथम भएकी लिजाले नगद २० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरिन्। दोस्रो भएका मिङहाङले १५ हजार र तेस्रो भएका डेनीले १० हजार रुपैयाँसहित ट्रफी र मेडल पाए। चौथो भएकी रचना र पाँचौँ भएकी साईनाले ट्रफी र मेडल प्राप्त गरे।
त्यस्तै, जुनियरतर्फ निलम राई प्रथम, युनेश लिम्बू दोस्रो, आरोही बास्तोला तेस्रो, जेम्स राई चौथो र चेरेस्बी लिम्बू पाँचौँ भए। प्रथम भएकी निलमले १५ हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरिन्। दोस्रो भएका युनेशले १० हजार र तेस्रो भएकी आरोहीले पाँच हजार रुपैयाँसहित ट्रफी र मेडल पाए। चौथो भएका जेम्स र पाँचौँ भएकी चेरेस्बीले पनि ट्रफी र मेडल प्राप्त गरे।
प्रतियोगिताको अन्तिम चरणमा जुनियरतर्फ आठ र सिनियरतर्फ १६ गरी २४ जना प्रतिस्पर्धी सहभागी थिए। विभिन्न चरण पार गर्दै फाइनलमा पुगेका उनीहरूले नृत्यकला, प्रस्तुति र सिर्जनात्मक क्षमतामार्फत दर्शकको ध्यान आकर्षित गरेका थिए।
प्याब्सन दमक नगर कमिटीका सचिव लक्ष्मी नेपालको प्रमुख आतिथ्यता तथा हिमशिखर टेलिभिजनका समाचार प्रमुख सुदिप अधिकारीको विशिष्ट आतिथ्यतामा फाइनल कार्यक्रम सम्पन्न भएको थियो।
प्रतियोगिताले स्थानीयस्तरमा रहेका बालबालिका तथा युवाको नृत्य प्रतिभा पहिचान गर्न र उनीहरूलाई आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गरेको आयोजकको भनाइ छ।
जागृति डान्स स्टुडियोका सञ्चालक तथा कार्यक्रम संयोजक विजय राईले नृत्यमा रुचि राख्ने बालबालिका तथा युवालाई अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए। यस्ता कार्यक्रमले नयाँ प्रतिभाको पहिचान र विकास गर्नुका साथै सहभागीमा आत्मविश्वास बढाउन र कला क्षेत्रप्रति आकर्षण अभिवृद्धि गर्न सहयोग पुग्ने उनको विश्वास छ।
स्थानीयस्तरमा लुकेर रहेका प्रतिभालाई प्रतिस्पर्धाको अवसर उपलब्ध गराउँदै नृत्य तथा मनोरञ्जनको क्षेत्रमा नयाँ सम्भावना खोज्न प्रतियोगिता उपयोगी बनेको आयोजकले जनाएको छ।

Scroll to Top