सुनसरी : सुनसरीको इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट प्रहरीले नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार हनुमान् मन्दिरनजिक बुलबुल यादवको घरमा शनिबार बिहान खानतलासी गर्दा ९१५ किलो ६८० ग्राम गाँजा बरामद भएको हो।
प्रहरीले गाँजासहित इनरुवा–४ का ३६ वर्षीय बुलबुल यादव, २३ वर्षीय सन्तोष यादव र ३० वर्षीय आशिष यादव तथा दुहबी नगरपालिका–१० का २२ वर्षीय कुन्दन यादवलाई पक्राउ गरेको जनाएको छ।
उनीहरूसँगै एउटा मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सहायक सूचना अधिकारी हेमराज ओलीले राससलाई जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






