अर्जुनधारामा वृद्ध हत्या प्रकरण : घटनाको एक घण्टामै रविन लिम्बू पक्राउ

झापा : झापाको अर्जुनधारा नगरपालिका–७ दाहालचोकमा बञ्चरो प्रहार गरी वृद्धको हत्या भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। घटना भएको करिब एक घण्टाभित्रै प्रहरीले रविन लिम्बूलाई पक्राउ गरेको हो।

शनिबार साँझ करिब ७ बजे दाहालचोकस्थित सडकमा स्थानीय ७० वर्षीय दुर्गाबहादुर बस्नेतको हत्या भएको थियो। उनको घाँटीमा गहिरो चोट देखिएको छ भने घटनास्थलमा रगत लतपतिएको बञ्चरोसमेत फेला परेको प्रहरीले जनाएको छ।

घटनालगत्तै इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी निरीक्षक मनिष लुइँटेलको नेतृत्वमा प्रहरी टोली परिचालन भएको थियो। टोलीले घटनास्थलको प्रारम्भिक अनुसन्धान गर्दै हत्या आरोपमा लिम्बूलाई पक्राउ गरेको हो।

वृद्धको हत्या किन र के कारणले गरिएको हो भन्ने खुलेको छैन। पक्राउ परेका लिम्बूमाथि थप अनुसन्धान भइरहेको बिर्तामोड प्रहरीले जनाएको छ।

Scroll to Top